कमलबजारमा खाद्य संस्थानको खाद्य खरिद बिक्री केन्द्र स्थापना हुदैं


 

अछाम जेठ १२ ।

कमलबजारमा खाद्य संस्थानको खाद्य खरिद बिक्री केन्द्र स्थापना हुने भएको छ । आगामी श्रावण १ गते बाट सञ्चालनमा आउने गरी बिक्री केन्द्र स्थापनाका लागी सम्झौता भएको हो । तत्कालीन द्वन्द्वकालमा विस्थापित भएको खाद्य डिपो पुन स्थापित हुने चर्चा संगै स्थानीय नागरिक खुसी भएका छन । खाद्य संस्थानको डिपो पुनःस्थापन गराउनको लागि कमलबजार नगरपालिकाको नगर सभाबाट निर्णय साथ नेपाल खाद्य संस्थानमा लेखी पठाइएको थियो । खाद्य संस्थानको हाल पालिका तहमा डिपोको ठाउँमा खाद्य खरिद बिक्री केन्द्र स्थापना गर्ने नीति खाद्य संस्थानले लिए बमोजिम हाललाई खाद्य खरिदबिक्री केन्द्र स्थापना हुन लागेको हो ।
केन्द्र स्थापनाका लागि गत फाल्गुन २८ गते खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको तर्फबाट विभागीय प्रबन्धक भेषनाथ न्यौपाने र कमलबजार नगरपालिकाको तर्फबाट नगर उपप्रमुख शारदा कुमारी बिष्टले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ । उप–प्रमुख बिष्टले पेश गर्नुभएको उक्त सम्झौतापत्रमा सह विभागीय प्रवन्धक खीम प्रकाश बुढा , कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकाल र कमलबजार नगरपालिकाका तत्कालीन नि. प्रमुख प्रशासकीय अधिकृत चक्र बहादुर बिष्टले साक्षीको रुपमा हस्ताक्षर गर्नु भएको छ । सो सम्झौता कार्यान्वयन भए नभएको विषयमा कमलबजार नगरपालिकाका प्रमुख ढकाल खाद्य संस्थानमा गएर बुझ्दा खाद्य संस्थानका विभागीय प्रबन्धक भेषनाथ न्यौपानेले आगामी आर्थिक वर्षको साउन महिनामा कमलबजारमा नेपाल खाद्य संस्थानको खरिद बिक्री केन्द्र दुई जना कर्मचारीको व्यवस्थापन साथ स्थापना गरी सञ्चालनमा ल्याउने जानकारी गराउनु भएको छ ।

Post a Comment

Previous Post Next Post